नेपालको आज राजनीति समाजका हरेक तहमा फैलिएको छ। संसद र सरकारसम्म मात्र सिमित नरही गाउँ–टोलका गल्ली, सडक, सामाजिक सञ्जाल, चिया पसल, हुँदै विद्यालय र विश्वविद्यालय सम्म फैलिएको छ। तर विडम्बना के छ भने राजनीतिमा चासो जति जति फैलिदै गएको छ त्यसको सही अर्थ र मर्म बुझ्ने संख्या उति नै सीमित देखिन्छ।
लोकतन्त्रका लागि आवश्यक मानिने राजनीतिक चेतना विचार, नीति र सेवाको माध्यम हुनपर्ने राजनीति आज प्रायः स्वार्थ, शक्ति प्रदर्शन र दबाबको हतियार मा सीमित हुँदै गएको छ। यही विकृत राजनीतिक संस्कृतिको प्रभावबाट विद्यार्थीहरु पनि अछुतो रहन सकेको छैन। नेपालमा भएका प्रायः सम्पूर्ण विद्यालय र विश्वविद्यालयहरूमा विद्यार्थी राजनीति दिनानुदिन तीव्र हुँदै गएको देखिन्छ। जसको प्रत्यक्ष असर उनीहरूको शिक्षा र भविष्यमा परेको छ।विद्यार्थीको मूल उद्देश्य भनेको ज्ञान आर्जन गरेर योग्य नागरिक बन्नु हो। तर जब विद्यार्थीको ध्यान राजनीति तर्फ मोडिन्छ, त्यसले उनीहरूको अध्ययनमा प्रतिकूल प्रभाव पार्छ। राजनीति स्वभावतः अस्थिर र द्वन्द्वपूर्ण हुन्छ।
यस्तो वातावरणमा रहेर विद्यार्थीले शान्तचित्त भएर शिक्षा ग्रहण गर्न सक्दैनन्।हालै भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा देखिएका प्रदर्शन र आन्दोलनहरू तथा फागुन २१ गते हुन गइरहेको निर्वाचनले यो यथार्थलाई झनै स्पष्ट पारेका छन्। त्यसैले विद्यार्थी जीवनमा राजनीतिबाट टाढा रहनु नै उनीहरूको हितमा हुन्छ।राजनीति लोकतन्त्रको मेरुदण्ड हो, यसमा दुई मत छैन। तर समस्या तब सुरु हुन्छ, जब राजनीति विचार र सेवाभन्दा पनि शक्ति प्रदर्शन, दबाब र निहित स्वार्थको माध्यम बन्न थाल्छ। पछिल्ला आन्दोलनहरूमा देखिएको उग्रता, तोडफोड, सडक अवरोध र आक्रोशले स्वस्थ राजनीतिक अभ्यासभन्दा फरक चित्र प्रस्तुत गरेको छ। अझ चिन्ताको विषय के हो भने यस्ता गतिविधिमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिनु हो।”विद्यार्थी भविष्यका कर्णधार हुन्” भन्ने भनाइ केवल भाषणमा सीमित हुँदै गएको छ। व्यवहारमा भने विद्यार्थीहरूलाई राजनीतिक दलहरूले भीड, दबाब र शक्ति प्रदर्शनको साधन का रूपमा प्रयोग गरिरहेका छन्।भदौ २३–२४ का आन्दोलनहरूले देखाएको अर्को यथार्थ भनेको, राजनीतिक दलहरूले युवाशक्ति र विद्यार्थीको जोशलाई सजिलै प्रयोग गर्न सक्ने अवस्था हो। अनुभवहीन जोश, आदर्शवादी भावना र परिवर्तनको आकांक्षालाई प्रयोग गरी उनीहरूलाई सडकमा उतारिन्छ,नारा लगाइन्छ, गिरफ्तारी र जोखिममा धकेलिन्छ।
आदर्श र परिवर्तनको नारामा प्रभाव परेर विद्यार्थीहरु राजनीतिक खेलको मोहरा बन्न पुग्छन्। दुःखद कुरा के हो भने जब आन्दोलन सकिन्छ विद्यार्थीको वर्तमान र भविष्यप्रति जिम्मेवारी लिने कोही हुँदैन।विद्यार्थी जीवनको मूल उद्देश्य भनेको शिक्षा, अनुशासन र बौद्धिक विकास हो। ज्ञान आर्जन धैर्य, निरन्तर अभ्यास, एकाग्रता र स्थिर वातावरणबाट मात्र सम्भव हुन्छ। तर आन्दोलन, प्रदर्शन, हडताल, तालाबन्दी, राजनीतिक उथलपुथलले,शैक्षिक क्यालेन्डर अवरुद्ध हुन्छ। कक्षाहरू बन्द हुन्छन्, परीक्षाहरु सर्छन्, पढाइमा बाधा आउँछ। यसको प्रत्यक्ष मार भने विद्यार्थीहरुमाथि नै पर्छ।स्वस्थ राजनीतिक अभ्यास आज नेपालमा अपवाद जस्तै बनेको छ। राजनीति बहस र विचारको माध्यम हुनुपर्नेमा आरोप–प्रत्यारोप, चरित्र हत्या, असहिष्णुता र हिंसात्मक प्रवृत्ति तर्फ उन्मुख हुँदै गएको छ। असामाजिक तत्वको सहाराले तोडफोड, दंगा र जघन्य अपराधसमेत हुने गरेका घटनाले राजनीतिलाई थप दुषित बनाइरहेको छ। यस्तो वातावरणमा विद्यार्थीहरुको राजनीतिप्रतिको आकर्षण उनीहरूको भविष्यका लागि चेतावनीको घण्टी हुन सक्छ।विद्यार्थी संघ–संगठनका चुनावहरू यस अवस्थाको ज्वलन्त उदाहरण बनेका छन्। क्याम्पसहरू अध्ययन केन्द्र भन्दा बढी चुनावी अखडा जस्ता देखिन्छन्।
प्रचार–प्रसार, जुलुस, नाराबाजी, खर्चिलो आडम्बर र बाह्य राजनीतिक दलका नेताहरूको खुला हस्तक्षेपले विद्यार्थीलाई पूर्णतः दलगत राजनीतिमा डुबाइदिएको छ। कतिपय अवस्थामा विद्यार्थी संगठनहरू स्वतन्त्र आवाज होइन, मुख्यधारको फोहर राजनीतिका शाखा कार्यालय जस्ता देखिन्छन्।भदौ २३–२४ गतेको घटनाहरूले अर्को यथार्थ पनि उजागर गरे, राजनीति अब स्वतन्त्र अभ्यास होइन, दलगत स्वार्थद्वारा निर्देशित संरचना बन्दै गएको छ। आन्दोलनको माग जे भए पनि, त्यसको दिशा र गति प्रायः पर्दा पछाडिका राजनीतिक निर्णयले तय गर्छन्। विद्यार्थी नेतृत्व नाम मात्रको हुन्छ, वास्तविक नियन्त्रण दलका वरिष्ठ नेताको हातमा हुन्छ। यस्तो अवस्थामा विद्यार्थी स्वाभाविक रूपमा राजनीतिक खेलका मोहरा बन्न पुग्छन्।अब देश फागुन २१ गतेको निर्वाचनतर्फ अग्रसर हुँदैछ। निर्वाचन लोकतन्त्रको उत्सव हो, जहाँ नागरिकले आफ्नो मताधिकार प्रयोग गर्छन्। तर प्रत्येक निर्वाचनसँगै विद्यालय र विश्वविद्यालयहरूमा राजनीतिक सरगर्मी बढ्नु, क्याम्पसहरू प्रचार केन्द्र बनिनु, विद्यार्थी संगठनहरू फेरी गुटबन्दीमा फस्नु गम्भीर चिन्ताको विषय बनेको छ। शिक्षा केन्द्रहरू विचार निर्माणका थलो हुनुपर्नेमा राजनीतिक शक्ति संघर्षका अखडा बन्दै जानु खतरनाक संकेत हो।विद्यार्थी संघ–संगठनका गतिविधि आफैंमा गलत होइनन्।
विद्यार्थीको आवाज उठ्नु, हकहितका लागि बोल्नु लोकतान्त्रिक अभ्यासकै अङ्ग हो। तर जब ती गतिविधि बाह्य दलको प्रभावमा हिंसा, डर र शक्ति प्रदर्शनमा रूपान्तरण हुन्छन्, तब विद्यार्थी जीवन नै जोखिममा पर्छ। यसको सबैभन्दा खतरनाक परिणाम भनेको राजनीतिक गुन्डागर्दी विद्यार्थी जीवनमै प्रवेश गर्नु हो। शिक्षा ग्रहण गर्ने उमेरमा विद्यार्थीहरू अनुशासनहीनता, आक्रामकता र अमानवीय व्यवहारतर्फ उन्मुख हुँदै गएका छन्। यसले न विद्यार्थीको चरित्र निर्माण गर्छ, न समाजलाई जिम्मेवार र विवेकशील नागरिक दिन सक्छ। उल्टै, यसले हिंसा र
असहिष्णुतालाई सामान्य बनाउँदै लैजान्छ। आजको राजनीतिमा देखिएको आरोप–प्रत्यारोप, चरित्र हत्या, असहिष्णुता र कहिलेकाहीँ हिंसात्मक प्रवृत्ति विद्यार्थी जीवनका लागि कदापि उपयुक्त छैन।विद्यार्थीमा उत्साह, ऊर्जा र परिवर्तनको चाहना हुनु स्वाभाविक हो। तर अनुभव र परिपक्वताको कमीका कारण उनीहरू समकालीन राजनीतिका जटिल चाल बुझ्न सक्दैनन्। यही कमजोरीको फाइदा उठाएर राजनीतिका अनुभवी खेलाडीहरूले विद्यार्थीको जोशलाई आफ्नो स्वार्थ पूरा गर्न आन्दोलन र चुनावी प्रयोजनका प्रयोग गर्छन्।
यसले न विद्यार्थीको भलो गर्छ, न शिक्षा प्रणालीको। विद्यार्थीको वर्तमान बर्बाद भए पनि, भविष्य अनिश्चित बने पनि त्यसको जिम्मेवारी लिने कोही हुँदैन।त्यसैले अब गम्भीर भएर सोच्ने बेला आएको छ- विद्यालय र विश्वविद्यालय शिक्षा ग्रहण गर्ने थलो हुन् कि राजनीतिक प्रयोगशाला??? विद्यालयलाई ‘शिक्षाको मन्दिर’ भनिन्छ, जहाँ विद्या, विवेक र संस्कारको साधना हुन्छ। तर जब त्यही मन्दिरमा जब राजनीति प्रवेश गर्छ, तब शिक्षा नै गौण र सत्ता प्रमुख बन्न पुग्छ।राजनीतिलाई शैक्षिक विषयका रूपमा अध्ययन गर्नु आवश्यक छ। यसले नागरिक चेतना, संविधान र लोकतान्त्रिक मूल्य बुझ्न मद्दत गर्छ। तर वर्तमान अवस्थामा व्यावहारिक राजनीतिमा बिद्यार्थीको अत्यधिक संलग्नता हितकर छैन। राजनीति गर्ने उपयुक्त समय र उमेर जीवनको पछिल्लो चरणमा आउँछ, जब व्यक्ति बौद्धिक, आर्थिक र मानसिक रूपमा परिपक्व हुन्छ। अस्वस्थ, हिंसात्मक र स्वार्थ केन्द्रित राजनीतिमा हाम फाल्नु भनेको विद्यार्थीले आफ्नै भविष्यलाई जोखिममा पार्नु हो। विद्यार्थीका लागि सबैभन्दा ठूलो पूँजी भनेको शिक्षा हो। बलियो शैक्षिक आधार बिना कुनै पनि क्षेत्रमा दीगो योगदान सम्भव हुँदैन।
शिक्षा पूरा गरेपछि राजनीति, प्रशासन, समाजसेवा वा जुनसुकै क्षेत्रमा राष्ट्र निर्माणमा योगदान दिनका लागि विद्यार्थी स्वतन्त्र हुन्छन्। तर आधार नै कमजोर बनाएर राजनीतिमा हाम फाल्नु आत्मघाती निर्णय हुन सक्छ।भदौ २३ र २४ गते भएको आन्दोलनदेखि अहिलेसम्म भएका घटनाक्रमले स्पष्ट सन्देश दिइरहेका छन् कि विद्यार्थीहरु राजनीतिका दर्शक र अध्ययनकर्ता हुन सक्छन् तर अस्वस्थ राजनीतिक खेलका पात्र बन्नु उनीहरूको हितमा छैन। देशलाई सशक्त भविष्य चाहिएको हो भने आजका विद्यार्थीलाई राजनीतिक प्रयोगबाट जोगाएर शिक्षा केन्द्रित बनाउनु अपरिहार्य छ।नेपाल आज आन्दोलन र निर्वाचनको दोहोरो दबाबमा उभिएको छ।
लोकतन्त्रको नाममा सडक तातिरहेको छ र मतपेटिकाको तयारी भइरहेको छ। तर यही भीड, नारा र शक्ति प्रदर्शनको बीचमा विद्यार्थी जीवन चुपचाप जोखिममा पर्दै गएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन। भदौका आन्दोलन र फागुनमा हुने निर्वाचन दुवैले स्पष्ट देखाएका छन् कि विद्यार्थीहरू आज विचारका वाहक होइन, राजनीतिक स्वार्थका औजार बन्दै गएका छन्।राजनीति परिवर्तनको माध्यम हुन सक्छ, तर शिक्षा भविष्यको आधार हो। आधार नै कमजोर बनाएर परिवर्तन सम्भव हुँदैन। विद्यालय र विश्वविद्यालयहरूमा राजनीतिक अखडा बने भने त्यहाँबाट न विवेकशील नेता जन्मिन्छन्, न सक्षम नागरिक।
अस्वस्थ राजनीतिमा फसेको विद्यार्थी न त आफ्नो लक्ष्यमा केन्द्रित रहन सक्छ, न देशका लागि दीर्घकालीन योगदान दिन सक्छ।अब प्रश्न स्पष्ट छ, हामीलाई नारा लगाउने विद्यार्थी चाहिएको हो कि सोच्ने नागरिक???सडकमा प्रयोग हुने जोश कि कक्षा कोठामा हुर्कने चेतना???अब पनि हामीले विद्यार्थीलाई राजनीतिक स्वार्थको लागि प्रयोग गरिरह्यौँ भने भोलि देशले नेतृत्वको मात्र होइन बौद्धिक क्षमताको गम्भीर संकट भोग्नुपर्नेछ। त्यसैले विद्यार्थीलाई राजनीतिका लागि होइन शिक्षाका लागि स्वतन्त्र छोड्नुपर्छ। यही निर्णयले मात्र विद्यार्थीको भविष्य सुरक्षित हुन्छ र राष्ट्रको वास्तविक विकास सम्भव हुन्छ।