नवलपरासी, १६ फागुन — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी स्थित महेशपुर–परासी सडकखण्डमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार हिजो साँझ करिब १८:४० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको यूपी ५७ बीवाई ४५३४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प १६४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई सोही दिशातर्फ आइरहेको साइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सरावल गाउँपालिका–२ मनरी बस्ने १९ वर्षीय निर्वाचन प्रहरी सुरज चमार गम्भीर घाइते भएका थिए। टाउको, कम्मर र दाहिने खुट्टामा गम्भीर चोट लागेका उनलाई उपचारका क्रममा साँझ १९:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनास्थलको मुचुल्का तथा पोस्टमार्टमपछि शव आफन्तले बुझेका छन्।
यसैगरी, साइकल यात्री रामग्राम नगरपालिका–७ उजैनी बस्ने करिब ६० वर्षीय बल्ली राठौरको टाउको र दाहिने हातमा चोट लागेको थियो। उनको अवस्था मध्यम रहेको र उपचारपछि राति २०:३० बजे डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।मोटरसाइकल चालक सुनवल नगरपालिका–९ फरौली बस्ने १८ वर्षीय राज अली अन्सारीको बायाँ खुट्टा भाँचिएको छ।
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल रिफर गरिएको छ र त्यहाँ उपचार भइरहेको छ।दुर्घटनालगत्तै अस्थायी प्रहरी बिट उजैनी र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको टोलीले कार, मोटरसाइकल, साइकल र कार चालकलाई नियन्त्रणमा लिएको छ।
कार चालक भारत, कुशीनगर जिल्ला कप्तानगञ्ज बस्ने २३ वर्षीय अब्दुल हफिज रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।