नवलपुर, असोज ७ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको असुली तथा अनुगमन विभागअन्तर्गत अनुगमन कार्यालय गैंडाकोटको आयोजनामा संस्थागत नीति तथा अनुपालना सम्बन्धी एकदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
गैंडाकोट क्षेत्रअन्तर्गत रहेका पाँच वटा शाखाका शाखा प्रमुख तथा फिल्ड कर्मचारीको सहभागिता रहेको उक्त तालिम बिहान ७ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन गरिएको थियो।
तालिममा संस्थाको नीति तथा कार्यक्षेत्र, कर्जा तथा बचत व्यवस्थापन, असुली प्रक्रिया, ग्राहक संरक्षण, सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्र बैंकका निर्देशन, निष्क्रिय समूहलाई सक्रिय बनाउने रणनीति, सङ्कलन प्रणाली तथा कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूको ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिममा समूहगत छलफल, प्रस्तुतीकरण तथा व्यावहारिक अभ्याससमेत गराइएको थियो। तालिमको अध्यक्षता संस्थाका आन्तरिक लेखा विभाग प्रमुख दीपक न्यौपानेले गर्नुभएको थियो भने प्रशिक्षण अनुगमन अधिकृत विजय कुमार बोगटीले सहजीकरण गर्नुभएको थियो।
आयोजकका अनुसार तालिमले कर्मचारीहरूलाई संस्थागत नीति तथा अनुपालना सम्बन्धी ज्ञान अद्यावधिक गर्न, कर्जा तथा असुली प्रक्रियालाई प्रभावकारी बनाउन तथा दैनिक कार्यसम्पादनमा थप दक्षता हासिल गर्न महत्वपूर्ण सहयोग पुगेको छ।