Logo

१९ भाद्र २०८३, शुक्रबार

  • गृहपृष्ठ
  • बेपत्ता व्यक्ति र बाढीपीडितको सम्झनामा परासीमा दीप प्रज्वलन

बेपत्ता व्यक्ति र बाढीपीडितको सम्झनामा परासीमा दीप प्रज्वलन

बेपत्ता व्यक्ति र बाढीपीडितको सम्झनामा परासीमा दीप प्रज्वलन

१५ भाद्र २०८३, सोमबार ०५:४२
१५ भाद्र २०८३, सोमबार ०५:४२

नवलपरासी, भदौ १४ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०८३ को अवसरमा तथा रसुवा लगायत विभिन्न जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परासीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–३१, परासी नवलपरासी, रामग्राम जेसीज तथा रामग्राम महिला जेसीजको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा द्वन्द्वकालीन बेपत्ता पारिएका व्यक्तिहरूको सम्झना गर्दै सत्य, न्याय र पीडित परिवारको सम्मानजनक अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै, हालैको बाढी विपद्मा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

कार्यक्रम एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–३१, परासी नवलपरासीका संयोजक राजु देवानको अध्यक्षता तथा उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष राजेश गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वक्ताहरूले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको सत्य तथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने तथा बेपत्ता हुने घटनाले समाजलाई गहिरो पीडा दिएको उल्लेख गर्दै विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।एम्नेष्टी इन्टरनेशनलका अनुसार नेपालमा सशस्त्र द्वन्द्वका क्रममा १,३०० भन्दा बढी बलपूर्वक बेपत्ताका घटनाहरू रिपोर्ट भएका थिए।

विभिन्न अभिलेखअनुसार इन्सेक (INSEC) ले ९३१ जना, अन्तर्राष्ट्रिय रेडक्रस समिति (ICRC) ले १,३४७ जना बेपत्ता व्यक्तिको विवरण सार्वजनिक गरेको छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (CIEDP) मा ३,२२३ उजुरी दर्ता भएका छन्।लुम्बिनी प्रदेश पनि द्वन्द्वबाट गम्भीर रूपमा प्रभावित क्षेत्रमध्ये एक हो। उपलब्ध अभिलेखअनुसार बर्दियामा २५४, दाङमा १२८, रोल्पामा ४५ तथा रुकुममा ९७ जना बलपूर्वक बेपत्ता पारिएका घटनाहरू अभिलेखित छन्।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नवलपरासीका अध्यक्ष तथा एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–३१ का सह–संयोजक रंजीत शर्मा, पूर्व संयोजक विजयकुमार जयसवाल, अर्जुन क्षेत्री, रामजी ज्ञवाली, जेसी बबिता जयसवाल, विष्णु राव, राजेश यादव, राधेश्याम सिंह सैथवार लगायत विभिन्न संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दीप प्रज्वलनमार्फत सहभागीहरूले बेपत्ता पारिएका व्यक्तिहरूको स्मृतिलाई सम्मान गर्दै सत्य, न्याय र मानव अधिकारको पक्षमा ऐक्यबद्धता जनाएका थिए। साथै, बाढी तथा अन्य विपद्मा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिएको थियो।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud