Logo

४ बैशाख २०८३, शुक्रबार

  • गृहपृष्ठ
  • सरावलमा फेरि सिंचाइ ट्रान्सफर्मर चोरी — किसान मारमा, चोर समात्नमा प्रशासन फेल

सरावलमा फेरि सिंचाइ ट्रान्सफर्मर चोरी — किसान मारमा, चोर समात्नमा प्रशासन फेल

सरावलमा फेरि सिंचाइ ट्रान्सफर्मर चोरी — किसान मारमा, चोर समात्नमा प्रशासन फेल

२९ माघ २०८२, बुधबार ११:०१
२९ माघ २०८२, बुधबार ११:०१

रंजीत शर्मा /नवलपरासी/२८ माघ — सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा सिंचाइ प्रयोजनका लागि जडान गरिएको २५ एम्पिएर क्षमताको विद्युत ट्रान्सफर्मर हिजो राति अज्ञात समूहले चोरी गरेको छ। ट्रान्सफर्मर चोरी भएसँगै भूमिगत डिप ट्युबवेल पूर्णरूपमा बन्द भएको छ र गहुँ खेती गरिरहेका दर्जनौं किसानहरू सिंचाइ अभावमा गम्भीर समस्यामा परेका छन्।

स्थानीय मनाेज पाण्डेयका अनुसार ट्रान्सफर्मर चोरी भएपछि डिप ट्युबवेलबाट पानी आपूर्ति पूर्णरूपमा रोकिएको छ। “गहुँबालीलाई अहिले पानी अति आवश्यक छ। यही समयमा सिंचाइ बन्द हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्छ,” उनले भने। अर्का स्थानीय सुर्य नारायण यादवले किसानको समस्यालाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै भने, “आयोजनाले अबिलम्ब अर्को ट्रान्सफर्मर जडान गरेर सिंचाइ सेवा सुचारु गर्नुपर्छ। ढिला भए किसानले ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ।”

यो घटना पहिलो भने होइन। विगत वर्ष पनि सरावल गाउँपालिका वडा नं. २ अहिरौल्ली, वडा नं. ३ गोइनी र वडा नं. ४ गोबरहियामा सिंचाइका लागि जडान गरिएका ट्रान्सफर्मरहरू चोरी भएका थिए। पछिल्ला दुई वर्षदेखि यस क्षेत्रमा चोरीका घटनाहरू व्यापक रूपमा बढ्दै गएका छन्। किसानका मोटर पम्पसेट, कृषि उपकरणलगायतका सामग्री चोरी हुने क्रम जारी छ भने कतिपय स्थानमा बालीमै आगजनी गरिएका घटनासमेत सार्वजनिक भएका छन्।

स्थानीयवासीहरूका अनुसार चुनावी समयमा सुरक्षाका लागि आर्मीसमेत परिचालन हुने गरे पनि ग्रामीण भेगमा चोरी नियन्त्रण हुन सकेको छैन। सुरक्षा संयन्त्रको उपस्थिति हुँदाहुँदै पनि यस्ता घटनाहरू दोहोरिनुले स्थानीय प्रशासनको प्रभावकारितामाथि प्रश्न उठेको छ।

कृषि नै मुख्य आयस्रोत रहेको यस क्षेत्रमा सिंचाइ अवरुद्ध हुँदा किसान प्रत्यक्ष मारमा परेका छन्। सरोकारवाला निकायले तत्काल वैकल्पिक व्यवस्था मिलाई ट्रान्सफर्मर पुनः जडान गर्नुका साथै चोरी नियन्त्रणका लागि कडा सुरक्षा रणनीति अपनाउन स्थानीयले माग गरेका छन्।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud