परासी, भदौ १६। पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा KIDS-EpiC MNCH को प्राविधिक एवं आर्थिक सहयोगमा स्वास्थ्यकर्मीहरूका लागि मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) सम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरू तथा ए.एन.एम. हरूलाई नेपाल सरकारको परिमार्जित निर्देशिका अनुसार गर्भावस्थाको निरन्तर हेरचाहका लागि ८ पटकको गर्भपूर्व जाँच (ANC) तथा सुत्केरीपश्चात् ४ पटकको प्रसूति पश्चात् हेरचाह (PNC) सम्बन्धी ‘निरन्तर सेवा’ (Continuum of Care) को प्रभावकारी कार्यान्वयनबारे र मातृ तथा नवजात शिशु मृत्यु निगरानी र प्रतिकार्य प्रशिक्षण प्रदान गरिएको थियो।
आज आयोजित उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख अंगद बहादुर शाही तथा जनस्वास्थ्य अधिकृत सन्ध्या लोनियाको गरिमामय उपस्थिति रहेको थियो। त्यस्तै KIDS-EpiC MNCH तर्फबाट कार्यक्रम अधिकृत मनिषा गैरे, फिल्ड सुपरभाइजर सन्दीप विश्वकर्मा तथा सामुदायिक परिचालक केदार गिरीको सक्रिय सहभागिता रहेको थियो।
मुख्य प्रशिक्षक तथा सहजकर्ताका रूपमा हस्पिटल नर्सिङ इन्स्पेक्टर (HNI) रचना शाहू तथा स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक (PHI) हरिशंकर गुप्ताले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, जोखिम पहिचान, समयमै प्रेषण (Referral) तथा सुरक्षित मातृत्व सेवाका विषयमा विस्तृत सहजीकरण गर्नुभएको थियो।
अभिमुखीकरणका क्रममा लुम्बिनी प्रदेशमा मातृ मृत्युदर अझै पनि चुनौतीपूर्ण रहेको विषयमा गम्भीर छलफल भएको थियो। सहभागीहरूले प्रेषण प्रक्रियामा हुने ढिलाइ न्यूनीकरण गर्ने, शतप्रतिशत संस्थागत प्रसूति सुनिश्चित गर्ने तथा आमा र नवजात शिशुको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा उपस्थित अतिथिहरू, प्रशिक्षकहरू तथा सहभागी स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै पाल्हीनन्दन गाउँपालिका भित्र आमा र शिशुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने साझा सङ्कल्पका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।