नवलपरासी/२३ भाद्र। राष्ट्रिय स्वतन्त्र पार्टी पाल्हीनन्दन गाउँपालिका कार्यसमितिको आयोजनामा जेन्जी सहिद दिवस–२०८३ तथा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुरमा आयोजित कार्यक्रममा वीर सहिदहरूको योगदानको स्मरण गर्दै तथा बाढीका कारण दिवंगत भएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो। कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी पाल्हीनन्दन गाउँपालिका कार्यसमितिका सभापति गुड्डू गुप्ताको अध्यक्षतामा तथा पार्टीका जिल्ला सह–सचिव राकेश गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले देश र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै प्राकृतिक विपद्का कारण ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै विपद्बाट प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।
दीप प्रज्वलन कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित सबैले मौनधारण गरी सहिदहरू तथा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।