नवलपरासी / १५ फाल्गुन । पश्चिम नवलपरासीको परासीमा व्यक्तिगत व्यापारका लागि ल्याइँदै गरेको सामग्रीलाई पार्टीसँग जोडेर बदनाम गर्ने प्रयास भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ।
रामग्राम–३ स्थित सूरेखा ट्रेडस का लागि ल्याइँदै गरेको बियरसहित केही मदिराजन्य सामग्री बोकेको गाडी केही व्यक्तिहरूले रोकेर उक्त सामान पार्टीको भएको तथा चुनावमा बाँड्न ल्याइएको हो भन्ने आशंका सार्वजनिक गरेका थिए। सो घटनाप्रति प्रतिक्रिया दिँदै राप्रपाले उक्त सामग्री पूर्ण रूपमा निजी व्यापार प्रयोजनका लागि रहेको स्पष्ट पारेको छ।
सूरेखा ट्रेडसका सञ्चालक आशिष प्रधानले विपक्षी दलहरूको “हतास मानसिकता” का कारण आफ्नो व्यक्तिगत व्यापारिक सामानलाई अनावश्यक रूपमा पार्टीसँग जोडेर बदनाम गर्ने प्रयास गरिएको आरोप लगाए। उनले भने, “मेरो पसलका लागि नियमित रूपमा ल्याइने सामग्रीलाई राजनीतिक रंग दिएर गलत प्रचार गरिएको छ, जसले व्यवसायिक प्रतिष्ठामा समेत असर पुर्याउने काम गरेको छ।”
राप्रपाले पनि यस्ता भ्रामक र आधारहीन आरोपको खण्डन गर्दै तथ्यका आधारमा मात्रै टिप्पणी गर्न सबैलाई आग्रह गरेको छ। पार्टीले अनावश्यक आरोप–प्रत्यारोपबाट टाढा रहन र स्वस्थ राजनीतिक संस्कार कायम गर्न अपिल गरेको जनाएको छ।