रंजीत शर्मा/ नवलपरासी/ १७ साउन – पश्चिम नवलपरासीको सीमावर्ती सुस्तामा नारायणी नदीको कटानबाट बस्ती जोगाउन स्थानीयले निर्माण गरेको अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको आरोपपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयले भारतीय पक्षको हस्तक्षेपको विरोध गर्दै प्रतिकार गरेका छन् भने घटनाका भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।स्थानीयका अनुसार आइतबार दिउँसो करिब ३ बजेतिर सादा पोशाकमा आएका १०–१५ जना भारतीय एसएसबीका सुरक्षाकर्मीले सुस्ता गाउँपालिका–५ थारूटोला क्षेत्रमा स्थानीयले बोरामा माटो भरेर बनाएको अस्थायी बाँध खन्न तथा हटाउन थालेका थिए।
त्यसपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए।सुस्ता बचाऊ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार वर्षायाममा नारायणी नदीको भेल गाउँतर्फ पस्न थालेपछि साउन १५ गते स्थानीयले आफ्नै पहलमा माटोका बोरा प्रयोग गरी अस्थायी बाँध निर्माण गरेका थिए। तर, भारतीय सुरक्षाकर्मीले सोही बाँध भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्।घटनापछि विवाद बढ्दै गएपछि नेपाली सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका एसपी गोविन्द खातीले दसगजा क्षेत्र नजिक स्थानीयले थुपारेको माटो भारतीय पक्षले हटाएको जानकारी पाएपछि दुवै पक्षलाई सम्झाइबुझाइ गरिएको बताउनुभयो।एसपी खातीका अनुसार सुस्तामा स्थायी सीमा स्तम्भ नभएकाले दुवै देशका सुरक्षा अधिकारीबीचको सहमतिअनुसार सिमलको रुखलाई अस्थायी सीमा संकेतका रूपमा मानिँदै आएको छ।
भारतीय पक्षले उक्त रुखभन्दा करिब दुई सय मिटर पर रहेको अर्को रुखभन्दा अगाडि नबढ्न आग्रह गर्दै आएको र त्यही क्षेत्र नजिक माटो खसालेर बाँध बनाइएको भन्दै हटाएको जनाएको छ। तर स्थानीयले भने आफूहरूले भारतीय पक्षले देखाएको सीमाभन्दा करिब ५० मिटर पछाडि मात्रै नदीको भेल रोक्न बाँध बनाएको दाबी गरेका छन्।
घटनापछि सिमलको रुख आसपास भारतीय एसएसबीले थप सुरक्षाकर्मी र हतियारसहित सुरक्षा व्यवस्था कडा पारेको स्थानीयले बताएका छन्। यद्यपि एसपी खातीले अहिले त्यहाँको अवस्था सामान्य रहेको जानकारी दिनुभयो।यता, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भारतीय सुरक्षाकर्मी माटोको बाँधबारे बुझ्न आउँदा स्थानीयले विरोध गरेपछि सामान्य विवाद भएको बताउनुभयो। उहाँका अनुसार सोमबार स्थानीय बासिन्दा, नेपाली र भारतीय सुरक्षा निकायबीच घटनाबारे छलफल गरिनेछ।सुस्तामा नारायणी नदी नियन्त्रणका लागि पहिलो चरणअन्तर्गत करिब एक किलोमिटर तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
त्यसैसँग जोडेर दोस्रो चरणमा १३२ मिटर तटबन्ध निर्माण सुरु गरिएको थियो। तर करिब दुई महिनाअघि भारतीय एसएसबीले उक्त क्षेत्रमा निर्माण कार्य रोक लगाएपछि काम अवरुद्ध भएको थियो। अहिले नदीको भेल सोही स्थानबाट गाउँतर्फ पस्न थालेपछि स्थानीयले अस्थायी बाँध निर्माण गरेका थिए।यसअघि पनि निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम भइरहेका बेला करिब डेढ महिनाअघि भारतीय एसएसबी नेपाली भूभागमै प्रवेश गरी निर्माण रोक्न भन्दै विवाद सिर्जना गरेको स्थानीयको भनाइ छ।
सुस्ता गाउँलाई नदी कटानबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनले पहिलो चरणमा करिब ११ करोड ५० लाख रुपैयाँ लागतमा तटबन्ध निर्माण गरिरहेको छ। दोस्रो चरणअन्तर्गत १ करोड ४६ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको १३२ मिटर तटबन्ध भने भारतीय अवरोधका कारण रोकिएको छ।लगातारको सीमा विवाद र भारतीय हस्तक्षेपपछि नेपाल सरकारले सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ।
गृह मन्त्रालयले असार १९ गते जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्राचार गर्दै थप सुरक्षाकर्मी परिचालन तथा स्थानीय नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिएको थियो। त्यसपछि सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहेको २५ जनाको टोलीलाई बढाएर ४० जना पुर्याइएको छ।नारायणी नदीपारि रहेको सुस्ता गाउँपालिका–५ मा करिब ४ सय घरधुरी बसोबास गर्दै आएका छन्। सुस्ताको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टर रहे पनि भारतीय अतिक्रमणका कारण स्थानीयले हाल करिब ७ हजार हेक्टर भूमि मात्र उपयोग गर्न पाएका छन्।
स्थानीयका अनुसार १४ हजार ५ सय हेक्टर भूमि भारतको अतिक्रमणमा परेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्र विवादित मानिएकाले दुवै पक्षले प्रयोग नगर्ने सहमति गरिएको छ।स्थानीय बासिन्दाले सीमा सुरक्षाका साथै नदी नियन्त्रणको कार्यमा कुनै अवरोध नगर्न नेपाल सरकारसँग कूटनीतिक पहल प्रभावकारी बनाउन, स्थायी तटबन्ध निर्माण शीघ्र सम्पन्न गर्न तथा सुस्तावासीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।