Logo

४ बैशाख २०८३, शुक्रबार

  • ताजा समाचार
  • विद्यालयको नाममा माटो कारोबार;अध्यक्ष र ठेकेदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको नाममा माटो कारोबार;अध्यक्ष र ठेकेदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको नाममा माटो कारोबार;अध्यक्ष र ठेकेदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२९ माघ २०८२, बुधबार १०:४५
२९ माघ २०८२, बुधबार १०:४५

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (ब.सु.प.) स्थित एक विद्यालयको जग्गाबाट अनुमतिभन्दा बढी मात्रामा माटो उत्खनन गरी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको आरोपमा दुई जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार सरावल गाउँपालिका–३ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको नाममा दर्ता भएको कि.नं. २९५ र १४२ को करिब १ बिघा १० कठ्ठा १० धुर जग्गामध्ये केही भागबाट माटो उत्खनन गर्दा आर्थिक अनियमितता भएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा विद्यालय व्यवस्थापन समितिको २०८०/०९/१६ गतेको बैठकले जग्गा सम्याएर खेतीयोग्य बनाउने निर्णय गर्दै अध्यक्ष राधाकृष्ण चौधरीलाई जिम्मेवारी दिएको देखिएको छ।

त्यसपछि २०८०/११/१५ गते चौधरी र रामग्राम नगरपालिका–४ का दिनेश यादवबीच सम्झौता भई माटो उत्खनन तथा निकासीको काम अघि बढाइएको थियो। तर गाउँपालिकाले दिएको अनुमतिभन्दा बढी परिमाणमा माटो उत्खनन तथा निकासी गरिएको तथ्य स्थलगत नापजाँचबाट पुष्टि भएको आयोगले जनाएको छ। यसरी पदको दुरुपयोग गरी रु. १०,०८,७०३.७४ बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना गरिएको ठहर गरिएको छ।

उक्त प्रकरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुल उपरको मागदाबी गरिएको छ। साथै, सम्झौताकर्ता दिनेश यादवलाई समेत गैरकानुनी लाभ लिएको अभियोगमा सोही ऐनअनुसार सजाय माग गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud