रंजीत/ नवलपरासी/ २८ माघ — आगो लगाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय सुनाइएका एक फरार कसुरदारलाई नवलपरासी (पश्चिम) प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का अनुसार सम्मानित नवलपरासी जिल्ला अदालतबाट २०६७/०८/०९ गते भएको फैसलाअनुसार आगो लगाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय तोकिएका सुनवल नगरपालिका–०१, सोमनाथ टोल निवासी वर्ष ५५ का दल बहादुर चौधरी लामो समयदेखि फरार रहेका थिए।इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मिति २०८२/१०/२७ गते निजलाई आफ्नै घर वतनमा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीलाई मिति २०८२/१०/२८ गते सम्मानित नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशानुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउने अभियान अन्तर्गत उक्त पक्राउ गरिएको हो ।