बर्दघाट/२८ माघ – राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, नवलपरासीले आसन्न प्रतिनिधि सभा निर्वाचनका विभिन्न दलका उम्मेदवारहरूलाई भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण पत्र बुझाउन थालेको छ।
सोही क्रममा बुधबार मञ्चले नवलपरासी क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो।मञ्चका जिल्ला सचिव रमेश ज्ञवालीद्वारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा साना किसानका समस्या समाधानका लागि सात बुँदे माग समेटिएको छ।

पत्रमा नक्सा, फिल्डबुक, प्लट रजिस्टर तथा श्रेस्ता जाँच गरी वास्तविक रूपमा जोतभोग र बसोबास गर्दै आएका व्यक्तिको नाममा जग्गाको स्वामित्व कायम गर्न माग गरिएको छ। साथै, नेपालको संविधान २०७२ को धारा ३६, ३७, ४०, ४२ र ५१ अनुसार खाद्य तथा आवास अधिकार सुनिश्चित गर्दै मापदण्डअनुसार आवास र खेतीयोग्य जमिन उपलब्ध गराउन आग्रह गरिएको छ।
मञ्चले स्थानीय तहमा भू–उपयोग योजना निर्माण गरी बाँझो जमिनमा भूमिहीनको पहुँच सुनिश्चित गर्न, कृषि प्रविधि तथा उद्यम प्रवर्द्धनमार्फत स्व–रोजगार सिर्जना र खाद्य सुरक्षामा योगदान पुर्याउन समेत माग गरेको छ।कार्यक्रममा मञ्चका केन्द्रीय सचिव बिजु खाणले दोहोरो स्वामित्व, जालसाजी दर्ता, वन तथा चुरे क्षेत्रसँग सम्बन्धित भूमि विवाद अन्त्य गरी वास्तविक जोतभोग गर्ने किसानकै नाममा जग्गा कायम गर्नुपर्ने बताए।

उनले खेती गरिँदै आएको गुठी जग्गा किसानकै नाममा रैतानी गर्नुपर्ने, गाउँब्लक बस्ती व्यवस्थापन गर्नुपर्ने तथा परिचयविहीन नागरिकलाई जन्मदर्ता र नागरिकता उपलब्ध गराउनुपर्ने माग पनि अघि सारे।त्यसैगरी भूमि आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले मञ्चले उठाएका मागहरू आयोग तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी जिल्लामा सहजीकरणका कार्य अघि बढाइने बताए।
ध्यानाकर्षण पत्र बुझ्दै नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीले कांग्रेस सरकारमा रहँदा नै भूमि समस्या समाधानका लागि आयोग गठन गरिएको र आयोगले सक्रिय रूपमा काम गरेको उल्लेख गरे। उनले भूमि समस्याको दिगो समाधान कांग्रेसकै नेतृत्वमा सम्भव हुने दाबी गरे। साथै, आफू क्षेत्रका समस्याप्रति जानकार रहेको र समाधानकै उद्देश्यले उम्मेदवारी दिएको बताए।