नवलपरासी/ ३ फाल्गुन। उद्योगपति तथा नेपाली कांग्रेसका नेता बिनोद चौधरीको सचिवालयमा लामो समयदेखि आबद्ध पत्रकार पुरुषोत्तम सुवेदीले पनि साथ छोडेका छन्।निर्वाचन नजिकिँदै गर्दा नेतृत्व पंक्तिदेखि पत्रकारसम्मले साथ छोड्न थालेपछि यसले स्थानीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
नेपाली कांग्रेस र नेपाल प्रेस युनियनमा लामो समयदेखि आबद्ध रहँदै आएका सुवेदीले दुवै संस्थाबाट राजीनामा दिएको घोषणा गरेका छन्। आज जारी प्रेस विज्ञप्तिमार्फत उनले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा सुवेदीले विगत लामो समयदेखि नेपाली कांग्रेस र यसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग आबद्ध रही विभिन्न जिम्मेवारी निर्वाह गरेको उल्लेख गरेका छन्। तर पछिल्लो समय पार्टी पंक्तिबाट आवश्यक संरक्षण र साथ नपाएको भन्दै गहन सोचविचारपछि आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको जनाएका छन्।
सुवेदी नेपाल प्रेस युनियन नवलपरासीका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस नवलपरासीका पूर्व कार्यालय सचिवसमेत रहिसकेका छन्। उनले आफूलाई विभिन्न भूमिकामा सेवा गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित संस्थाप्रति आभारसमेत व्यक्त गरेका छन्।

यसअघि नै पश्चिम नवलपरासी–१, जुन बिनोद चौधरीको निर्वाचन क्षेत्र हो, त्यहाँबाट कांग्रेसका ६ जना नेताले पार्टी परित्याग गरिसकेका छन्। उम्मेदवार चौधरी र उनी निकट नेतृत्वले सबै नेता–कार्यकर्तालाई समेट्न नसकेको आरोप लाग्दै आएको छ।

निर्वाचनको मुखमा भइरहेका यस्ता परित्यागका घटनाले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत गरेको विश्लेषण हुन थालेको छ। अब यसको राजनीतिक प्रभाव कस्तो पर्ला भन्ने चासो बढेको छ।