नवलपरासी/५ फाल्गुन। पश्चिम नवलपरासीको महेशपुर–परासी सडक खण्ड सोमबार स्थानीय युवाहरुले २ घण्टा बन्द गराएका छन्। लामो समयदेखि निर्माण कार्य अलपत्र परेको भन्दै महेशपुर–हरपुर क्षेत्रका युवाहरु आन्दोलित बनेका हुन्। करिब १.५ किलोमिटर सडक दुई वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीयवासी आक्रोशित छन्।
सडकमा उड्ने अत्यधिक धुलोका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको उनीहरूको गुनासो छ। दुवै तर्फ मिस्कट (ढुंगा–बालुवा) खसालेर करिब २० दिनदेखि कुनै पनि काम नगरी छोडिएको कारण दैनिक आवतजावतमा समस्या भइरहेको र दुर्घटनाको जोखिम बढेको युवाहरुले बताएका छन्।
आन्दोलनका क्रममा केही समय यातायात पूर्णरूपमा अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका थिए। प्रदर्शनकारी युवाहरुले सम्बन्धित निर्माण कम्पनी र सरोकारवाला निकायलाई तत्काल वार्तामा बस्न आग्रह गरेका छन्। “यदि भोलिसम्म वार्तामा नआए सडक पूर्ण रूपमा बन्द गरिनेछ,” आन्दोलनरत युवा सद्दाम अन्सारीले चेतावनी छ।
स्थानीयवासीले तत्काल सडक निर्माण कार्य तीव्र पार्न र धुलो नियन्त्रणका लागि आवश्यक व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले समयमै काम सम्पन्न नभए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत समेत दिएका छन्।