Logo

१२ श्रावण २०८३, मंगलवार

लागुऔषध डाइजेपाम सहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषध डाइजेपाम सहित दुई भारतीय नागरिक पक्राउ

१० श्रावण २०८३, आईतवार १३:५२
१० श्रावण २०८३, आईतवार १३:५२

परासी, साउन १०। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषध डाइजेपामसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार साउन १० गते अपराह्न करिब ४ः३० बजे पाल्हीनन्दन गाउँपालिका–५ मा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय वडा नं. २ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको UP 56 X 1210 नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा भारत, उत्तर प्रदेश, महाराजगञ्ज जिल्ला बरगदवा ग्राम पिपरा निवासी ३३ वर्षीय चालक र पछाडि सवार मोहिनपुर निवासी १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले बोकेको ‘SAMRAT’ लेखिएको प्लास्टिकको झोलाभित्र कालो प्लास्टिकका दुई वटा पोका फेला परेको थियो। ती पोका खोलेर हेर्दा डाइजेपाम २ एमएलका १९८ एम्पुल, फेनरगन २ एमएलका १७७ एम्पुल र बुप्रेनोर्फिन २ एमएलका १९९ एम्पुल गरी जम्मा ५७४ एम्पुल लागुऔषध बरामद गरिएको हो।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सम्मानित अदालतबाट लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud