नवलपरासी, साउन १३। नागरिकको समस्या र जनगुनासो सुन्न प्रतिनिधिसभा सदस्य माननीय नरेन्द्र कुमार गुप्ताले पाल्हीनन्दन गाउँपालिका–२, हरपुर स्थित रामजानकी मन्दिर परिसरमा आयोजित ‘नागरिक सँग माननीय’ जनगुनासो सुनुवाइ तथा नागरिक संवाद कार्यक्रममा सहभागिता जनाउँदै सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, सीमा क्षेत्रका समस्या, कृषि तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न गुनासा, माग तथा सुझावहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले स्थानीय तह र सम्बन्धित निकायबाट समाधान हुन नसकेका समस्याबारे पनि सांसद समक्ष ध्यानाकर्षण गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गुप्ताले नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने र सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा पहल गरी यथाशीघ्र समाधानको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधिको मुख्य दायित्व जनताको आवाज सुन्नु, उनीहरूको समस्या बुझ्नु र समाधानका लागि निरन्तर प्रयास गर्नु रहेको बताउँदै स्थानीय विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने धारणा राख्नुभयो।
उहाँले नागरिकबाट प्राप्त सुझाव र सल्लाहलाई विकास योजनाको आधारका रूपमा ग्रहण गर्दै जनअपेक्षा अनुसार प्रभावकारी सेवा प्रवाह र विकास निर्माणका कार्यलाई अघि बढाइने विश्वास दिलाउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी पाल्हिनन्दन गाउँपालिका वडा नं २ का वडा सभापति हरिशंकर मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीका सह-सचिव राकेश गुप्ता, पालिका कोषाध्यक्ष अजय यादव, १ नं सभापति राजेश निगम, स्थानीय नेता, समाजसेवी, बुद्धिजीवी, युवा तथा सर्वसाधारण नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले यस्ता प्रत्यक्ष संवाद कार्यक्रमले जनप्रतिनिधि र नागरिक बीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै स्थानीय समस्याको समाधानमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।