नवलपरासी, २६ साउन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा युवायुवतीहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्हिनन्दन गाउँपालिका कार्यसमितिको आयोजनामा युवायुवतीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम रास्वपा पाल्हिनन्दन गाउँपालिका कार्यसमितिका सभापति गुड्डु गुप्ताको अध्यक्षता तथा रास्वपा नवलपरासीका जिल्ला सचिव अमरनाथ पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले पछिल्लो समय युवायुवतीहरूमा मानसिक तनाव, निराशा, एक्लोपन तथा विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकाले यसको समयमै पहिचान र समाधानका लागि परिवार, समाज तथा सम्बन्धित निकाय सबै सचेत हुनुपर्ने बताए। मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले समस्या लुकाएर राख्नुभन्दा खुलेर आफ्ना कुरा राख्ने र आवश्यक परेमा परामर्श तथा सहयोग लिन युवायुवतीहरूलाई आग्रह गरे।
कार्यक्रमका सहजकर्ता सुभान अलीले युवायुवतीहरूमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्या, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि, मानसिक स्वास्थ्यको महत्व तथा समस्याको अवस्थामा अपनाउनुपर्ने उपायहरूका विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा रास्वपा नवलपरासीका सह–सचिव राकेश गुप्ता, पालिका उपसभापति ज्ञानेश्वर साहनी, कोषाध्यक्ष अजय यादव, सदस्यहरू सन्दीप पटेल, लाजिम जोलहा, वडा नं. ६ का सभापति मुकेश तिवारी, वडा नं. ३ का सभापति किशुनाथ बानियाँ, वडा नं. २ का सभापति हरिशंकर मिश्र लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा करिब ३० जना युवा–युवतीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमले युवायुवतीहरूमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोचको विकास गर्नुका साथै मानसिक समस्यालाई लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी आवश्यक सहयोग, परामर्श तथा उपचार लिनुपर्ने सन्देश दिएको थियो।