परासी/२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल परिवार नियोजन संघ, नवलपरासी शाखाको आयोजनामा रामग्राम नगरपालिका स्तरीय माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।“बृहत् यौनिकता शिक्षाको महत्त्व” विषयमा आयोजित प्रतियोगितामा रामग्राम नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम नेपाल परिवार नियोजन संघ, नवलपरासी शाखाका कोषाध्यक्ष ईमामुल अलीको सभापतित्व तथा शाखाका सभापति अभिनाश रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा निर्णायकका रूपमा दिपक बरालको सहभागिता रहेको थियो भने विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, शाखाका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।प्रतियोगितामा हिलारियस चिल्ड्रेन एकेडेमीकी रोशनी कसौधनले प्रथम स्थान हासिल गरिन्। त्यस्तै लिटिल एन्जल हाई स्कुलकी सबनम खातुनले द्वितीय, परासी ग्लोरियस सेकेन्डरी स्कुलकी आकृति तिवारीले तृतीय तथा रामग्राम सगरमाथा एकेडेमीकी अनामिका केवटले सान्त्वना स्थान प्राप्त गरिन्।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बृहत् यौनिकता शिक्षाको आवश्यकता र महत्त्वका साथै किशोरकिशोरीको शारीरिक, मानसिक तथा सामाजिक विकास, सुरक्षित व्यवहार, जिम्मेवारीबोध र स्वस्थ भविष्य निर्माणमा यसको भूमिकाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा वक्ताहरूले किशोर किशोरीलाई उमेर अनुकूल, वैज्ञानिक तथा तथ्यमा आधारित यौनिकता शिक्षा प्रदान गर्नु उनीहरूको स्वास्थ्य, सुरक्षा र अधिकार संरक्षणका लागि महत्वपूर्ण रहेको बताएका थिए।

कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजन संघ, नवलपरासी शाखाका प्रबन्धक यमनाथ पौडेलले गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै बृहत् यौनिकता शिक्षाबारे सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।