परासी । संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्माले किसानका समस्या, विकास निर्माणमा पारदर्शिता, सुस्ता क्षेत्रको समस्या तथा नागरिक दायित्वका विषयलाई प्राथमिकतामा राख्दै आज पत्रकार सम्मेलन मार्फत समस्या समाधान गर्न सरकार प्रतिबद्ध हुनु पर्ने बताए।
‘जनजागरण, विकास निर्माण, सुस्ता मुद्दा र नागरिक दायित्व’ विषयमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानले समृद्ध समाज र सबल राष्ट्र निर्माणका लागि नागरिकका आधारभूत समस्या, स्थानीय विकासको पारदर्शिता तथा राष्ट्रिय स्वाभिमानका विषयमा निरन्तर आवाज उठाउने जनाएको हो।
किसानलाई मल, बीउ र सिँचाइ सहज बनाउन माग
महाअभियानले किसानले चरम अभावको समयमा समेत रासायनिक मल नपाउने समस्या अझै कायम रहेको भन्दै सरकारसँग किसानलाई सर्वसुलभ रूपमा मल उपलब्ध गराउन ठोस कदम चाल्न आग्रह गरेको छ।त्यस्तै कृषि सेवामा पहुँच सुनिश्चित गर्दै समयमै मल, बीउ र सिँचाइको व्यवस्था मिलाई किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
विकास निर्माणमा गुणस्तर र पारदर्शिता आवश्यक
विकास निर्माणका क्रममा हुने अनियमितता र गुणस्तरहीन कामप्रति समेत महाअभियानले ध्यानाकर्षण गराएको छ। ठेकेदारहरूले सञ्चालन गरेका विकास निर्माणका योजनाको परिमाण (Quantity) र गुणस्तर (Quality) पारदर्शी हुनुपर्ने भन्दै सम्बन्धित नियामक निकाय र जनप्रतिनिधिले स्थलगत अनुगमन गरी भ्रष्टाचार तथा लापरवाही रोक्नुपर्ने माग गरिएको छ।
सुस्ता मुद्दा राजनीतिक विवादभन्दा कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने
महाअभियानले सुस्ता क्षेत्रलाई राजनीतिक विवादको विषयभन्दा पनि कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने संवेदनशील राष्ट्रिय मुद्दाका रूपमा लिनुपर्ने बताएको छ।सुस्ता जस्तो संवेदनशील सीमा तथा बाढी–पहिरो प्रभावित क्षेत्रका समस्या राजनीतिक स्वार्थबाट नभई दुवै देशबीचको उच्चस्तरीय कूटनीतिक पहलबाट दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिइएको छ। साथै सुस्तावासीको जीवनस्तर सुधार तथा भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ।
वडा तहबाटै सहज सेवा दिनुपर्ने
महाअभियानले नागरिकले सामान्य प्रशासनिक कामका लागि समेत अनावश्यक दुःख पाउने अवस्था अन्त्य गर्न वडा तहबाटै सहज सेवा उपलब्ध गराउनुपर्ने बताएको छ।सवारीसाधन वा मोटरसाइकल नवीकरण, सिफारिसलगायत सामान्य प्रशासनिक सेवाहरू नागरिकलाई सहज रूपमा वडा तहबाटै उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ। अधिकार र सेवा सुविधालाई जनताको घरदैलो अर्थात् पालिकासम्म विकेन्द्रीकरण गर्नुपर्नेमा समेत जोड दिइएको छ।
नागरिक आफैं पनि जिम्मेवार बन्नुपर्ने
महाअभियानले विकास र सुशासनका लागि राजनीतिक नेतृत्वलाई मात्र दोष दिएर नागरिकको भूमिका समाप्त नहुने स्पष्ट पारेको छ। आफ्नो नगर, वडा तथा टोलको सरसफाइ र विकासमा नागरिक स्वयंले पनि योगदान दिनुपर्नेमा जोड दिइएको छ।
‘पहिला आफू एनामा हेरौं, अनि सुधार आफैंबाट गरौं’ भन्ने सकारात्मक सोचका साथ नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने अभियानको भनाइ छ।महाअभियानले नेपालमा बस्ने सबै नेपालीका लागि शिक्षा, स्वास्थ्य, कृषि र सुशासनका क्षेत्रमा राज्यले तत्काल विशेष ध्यान दिनुपर्ने समेत माग गरेको छ।
अभियानले आफ्ना माग तथा विषयवस्तुहरू आम जनता र सम्बन्धित निकायसम्म पुर्याउन सञ्चारकर्मीलाई सहयोग गरिदिन आग्रह गरेको छ।